काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दशैँ खर्च’ भन्दै खाममा १५ हजार रुपैयाँ हालेर बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा हजारका नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै बाँड्दै हिँडेको पाइएको छ ।
मंगलबार दिउँसो अनलाइन खबर कर्मीलाई तिवारीको फोन आयो । उनले अनलाइन खबरमा कार्यरत सञ्चारकर्मीलाई भेट्न बोलाएका थिए । कोरोनाको जोखिमका कारण बाहिर भेटघाट बन्द गरेको बताए पछि तिवारीले ‘दाइले केही सामान पठाउनुभएको छ, कसैलाई पठाइदिए हुन्छ’ भने र कार्यालय नजिकै आएका तिवारीले कार्यालय सहयोगीलाई बन्द खाम दिए, जसमा १५ हजार रुपैयाँ (हजारका १५ वटा नोट) थियो ।
कार्यालय सहयोगीले ल्याएको खाममा कुनै कागजात पो छ कि भनेर खोलेर हेरेपछि लगत्तै अनलाइन खबरकर्मी राजकुमार श्रेष्ठले तिवारीलाई फोन गरिहाले । खाममा १५ हजार रुपैयाँ भेटिएको बताउँदै यो कसले पठाएको भनेर श्रेष्ठले दोहोर्याएर सोधे । तिवारीले ‘महामन्त्री शशांक दाइले दशैँका लागि पठाउनुभएको’ जवाफ दिए ।
अनलाइन खबर कर्मीले यो रकम फिर्ता लिन आउन आग्रह गर्दा उनी अर्को ठाउँमा पैसा बाँड्न पुगिसकेको बताउँदै भने, ‘पछि म फोन गर्छु ।’
अनलाइन खबर कर्मी श्रेष्ठले यस्तो रकम आफूले कुनै हालतमा स्वीकार नगर्ने बताए पछि तिवारीले कृष्ण न्यौपानेको नाममा रहेको नबिल बैंकको खाता नम्बर दिए । तिवारीले दिएको सो खातामा कांग्रेस महामन्त्रीले पठाएको १५ हजार रुपैयाँ डिपोजिट गरेर अनलाइनखबरका तर्फबाट फिर्ता गरिएको छ ।