हंगामा खबर । काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं कोरोना भाइरस महामारीविरुद्धको लडाईमा पछि परेको बताउनुभएको छ । आज आइतबारको दिन मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं देशलाई नै नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने शहर भएपनि कोरोना महामारीविरुद्धको लडाईंमा भने निकै पछि परेको बताउनुभएको छ ।
ज्ञवालीले कोरोना महामारी नियन्त्रणका लागि धेरैजसो जिल्लाको प्रयास उदाहरणीय भएपनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको बताउनुभएको छ । यसैबीच उहाँले काठमाडौंका जनप्रतिनिधि, संघसंस्था तथा आम नागरिकलाई कोरोना नियन्त्रणका लागि बाँके, कपिलवस्तु, वीरगञ्ज जस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट पाठ सिक्नुपर्ने समेत बताउनुभएको छ ।
त्यस्तै उहाँले ४० लाख जनसंख्या भएको काठमाडौंमा संक्रमण रोक्न नसकेमा अवस्था भयावह हुने र स्वास्थ्य संरचनाले केहि गरिनी धान्न नसक्ने समेत बताउनुभएको छ । उहाँले कोरोना संक्रमणलाई हल्का रुपमा नलिन समेत आग्रह गर्नुभयो । नेपालमा कोरोना संक्रमणको महामारी रोक्न नागरिकको सचेतता आवश्यक रहेको बताउँदै मन्त्री ज्ञवालीले यो वर्षको दशैं लगायतका चाडपर्व उल्लासका साथ मनाउने अवस्था नरहेको पनि प्रष्ट पानुभएको थियो ।
यसको साथै आफ्ना अभिभावक तथा मान्यजनहरुलाई कोरोना संक्रमण हुनबाट बचाउन सबै सचेत रहन पनि उहाँले आग्रह गर्नुभएको छ । यसैबीच उहाँले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन गर्नुपर्ने तर्फ पनि सबैलाई सचेत गराउनु भएको थियो । हालको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहे पनि नागरिक सचेत नभएमा पुनः लकडाउन गर्न सरकार बाध्य हुने उहाँले बताउनु भएको छ ।
जनताको जीवन रक्षा गर्ने सरकारको मुख्य प्राथमिकता भएको बताउँदै उहाँले बारम्बारको अपीललाई नागरिकले नसुनेमा कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि बताउनुभयो ।