हुम्लामा महिलालाई कपाल मुडेर दिसा खुवाइयो,छोराछोरी चिच्याइचिच्याई रोइरहे

0
281

हुम्ला । परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ । परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् ।

उनीसँग सम्बन्धमा भएको भनिएका पुरुषहरुलाई सोधपुछ पनि नगरी महिलालाई निर्घात कुटपिट गरिएको छ । शुक्रबार बिहान ८ बजेदेखि कुटपिट भएको उनले बताएकी छिन् । मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे, उनले भनिन् । कपाल मुडिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हातखुट्टा बाँधेर कुटपिट गरे ।

गाउँबाट भागेर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कुट्दा आफ्नो ज्यानभन्दा पनि आफ्नै अघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइकी छिन् । जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चिच्याइचिच्याई रोइरहे , मलाई आफ्नो पीडा भन्दा पनि छोरा-छोरीको मनले रुवाइरहेको छ, उनले बताएकी छिन् ।

कुटपिट गर्ने श्रीमान सहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरी प्रहरी कार्यालयमा ल्याएको छ । घटना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उजुरी दिन सक्थे, कानुनी उपाय खोज्न सक्थे तर कुटपिट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, यो विषयमा विस्तृत अनुसन्धान सुरु भईसकेको छ, दोषीलाई जसरिपनि कारबाही हुन्छ  । नयाँ पत्रिका दैनिकबाट

 

Hungama Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here