काठमाण्डौ । गृहमन्त्री राम बहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा पनि स्थानीय नागरिकहरुबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । दार्चुलाको खलङ्गामा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन,सीमाको रक्षा सीमा क्षेत्रका नेपाली नागरिकहरुले झन् राम्रोसँग गर्न सक्छन् । सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमाको सुरक्षा हुनसक्ने उनले बताएका छन् ।
दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्री थापाले विश्वका दुई ठूला देश चीन र भारत सँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिइरहेको बताएका छन् । उनले यस क्षेत्र पर्यटनका लागि पनि ठूलो सम्भावना भएको कारण यस क्षेत्रको विकासको लागि सरकारले विशेष प्राथमिकता दिईरहेको उल्लेख गरेका छन् ।
नेपाल सरकारले यस क्षेत्रलाई अझ तिब्र गतिमा विकास गर्ने र यस क्षेत्रमा लाखौको संख्यामा पर्यटकलाई भित्र्याउने योजना रहेको गृहमन्त्री राम बहादुर थापाले बताएका छन् । गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने समेत बताएका छन् ।
गृहमन्त्री राम बहादुर थापा सँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल,गृहसचिव महेश्वर न्यौपाने,दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी,सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी थिए ।