काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकको पोस्टमा प्रस्ताव गरिसकेको जानकारी दिएको छ ।
मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुक एकाउटमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई नै पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नका लागि प्रस्ताव राखिसकेको बताएका छन् । चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र नेपाली जनताको भावनाको कदर गर्दै मन्त्रिपरिषदले कुलमान घिसिङलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
‘नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन ज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभईसकेको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीनको लागि राखिएको छ,’ चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनताको चाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’
चापागाईंले मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको स्पष्ट पारेका छन् । गत २८ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाइ गरेको थियो र फेरी हजुरलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी मिलेको हेर्न पाइयोस भन्दै बिदाई गरेका थिए । – रासस