काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको सेवाको लागि केन्द्रीत रहेको बताएका छन् । सोह्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई अनलाईन भर्चुल माध्यमबाट सम्बोधन गर्दै उनले सरकार कुरा भन्दा पनि काममा बडी विश्वास गरेर अघि बढिरहेको दावी गरेका छन् ।
उहाँले कोरोना भाइरसको विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताएका छन् । सरकारले नीति तथा कार्यक्रम मार्फत नै सम्बोधन गरेर निरोगी, स्वच्छ नेपाल बनाउने अभियानका साथ काम भइरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्नेमा उनको जोड छ ।
मन्त्री ढकालले क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको भन्दै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्यु हुनुपरेको जानकारी दिएका छन् । क्यान्सरबाट मृत्यु हुने मध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै उहाँले क्यान्सरबाट मृत्यु हुनुको कारण खोजेर त्यसको समाधानको लागि काम गर्नुपर्ने बताएका थिए ।
मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन वटा पुस्तक पनि सार्वजनिक गर्नुभएको थियो । शनिबार देखि भरतपुर अस्पतालमा इटिकेटिङको पनि शुरू भएको छ । मन्त्री ढकालले अनलाईन भर्चुल माध्यमबाटै अस्पताले इटिकेटिङका लागि तयार पारेको मोवाइल एप्स क्लिक गरेर एप्सको शुभारम्भ गरेका थिए । यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने सेवा ग्राहीहरुलाई अब टिकट कै लागि भने अब लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।